Birgunj News24
रुगटाले पेश गरे स्थानीय जनमुखी सेवा प्रवाह र आर्थिक विकास योजना।

वीरगञ्ज, पर्सा – प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा पर्सा क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुगटा ले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत वीरगञ्जमा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रुगटाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै स्थानीय तहमा सेवा प्रवाह र समग्र विकासका योजना प्रस्तुत गरेका हुन्।
उनी जनमुखी र पारदर्शी सेवाको सुनिश्चितताका लागि क्रियाशील हुने प्रतिवद्धता जनाउँदै जनता र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने बताए। रुगटाले आफूले सञ्चालन गर्ने योजनाले आत्मसम्मान, सम्मानित पर्सा र समृद्ध देश निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
उनले प्रतिज्ञापत्रमा मुख्य रूपमा पिउने पानीको उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा, सीपयुक्त शिक्षा, आर्थिक विकास, निष्पक्ष अवसर वितरण, हरित वीरगञ्ज, नारायणी रंगशालाको पुनःनिर्माण, महिला सशक्तिकरण र सुशासन समावेश रहेको जानकारी दिएका छन्।
उद्योग सञ्चालनको विषयमा उनले सिरसिया नदीमा कुनै प्रदूषण नपुर्याएको उल्लेख गर्दै, निष्पक्ष समितिको मार्फत अध्ययन अनुसन्धान गर्न आव्हान गरे। साथै, आफ्नै उद्योगमा ९५ प्रतिशत रोजगार नेपाली नागरिकले पाएको बताए।
पत्रकार सम्मेलन नेपाली कांग्रेसका प्रचार विभाग सदस्य कन्चा झाले संचालित गरेका थिए। कार्यक्रममा जनार्दन सिंह क्षेत्री, अजय कुमार द्विवेदी, राम नारायण कुर्मी, अरविन्द गुप्ता, भोला कलवार, किरण सरकार, दीपेन्द्र चौहान, श्याम पोख्रेल, मनोज दास लगायतका नेताहरुको सहभागिता रहेको थियो।
रुगटाले प्रतिज्ञापत्रमार्फत पर्सा–१ का नागरिकको अपेक्षा सम्बोधन गर्दै विकास र स्थायित्वका पक्षमा जनमत जुटाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update