Birgunj News24
मदिरा बिक्री बन्द गर्ने निर्णयप्रति पर्सा मदिरा व्यवसायी संघको गम्भीर आपत्ति।

वीरगञ्ज, पर्सा – पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको विज्ञप्तिमा उक्त निर्णयले जिल्लाभरका मदिरा व्यवसायीहरूलाई अत्यन्तै चिन्तित, मर्माहत र आर्थिक संकटमा पारेको उल्लेख गरिएको छ। देशको वर्तमान आर्थिक अवस्था तथा बजारको मन्दीका कारण व्यवसायीहरू पहिले नै कठिन परिस्थितिमा गुज्रिरहेको अवस्थामा यस्तो निर्णयले थप समस्या सिर्जना गरेको संघको भनाइ छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि मदिरा व्यवसाय राज्यलाई नियमित रूपमा कर (Tax) तिर्ने प्रमुख क्षेत्रमध्ये एक हो। वर्षौंदेखि व्यवसायीहरूले राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान गर्दै आएका छन्। तर यही क्षेत्रलाई लक्षित गरी अचानक व्यवसाय बन्द गर्ने निर्णय गरिनु अन्यायपूर्ण र अव्यावहारिक भएको संघको ठहर छ।
विशेषगरी होली जस्तो वर्षमा एकपटक आउने महत्वपूर्ण पर्वको पूर्वसन्ध्यामा गरिएको यो निर्णयप्रति संघले गम्भीर असन्तुष्टि जनाएको छ। धेरै व्यवसायीहरूले होली लक्षित गर्दै बैंक, सहकारी, साथीभाइ तथा अन्य स्रोतबाट ऋण तथा कर्जा लिएर ठूलो मात्रामा सामान खरिद गरी व्यापारको तयारी गरिसकेको अवस्थामा करिब एक हप्ता अगाडि नै पसल बन्द गरिनु कत्तिको न्यायोचित हो भन्ने प्रश्न उठाइएको छ।
“यदि व्यवसाय सञ्चालन गर्न नै नदिने हो भने व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च तथा राज्यलाई तिर्नुपर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ?” विज्ञप्तिमा प्रश्न गरिएको छ।
संघले राज्यलाई व्यवसायीहरूको लगानी, ऋणभार र वास्तविक अवस्थालाई मध्यनजर गर्दै निर्णय पुनर्विचार गर्न तथा व्यावहारिक र दुवै पक्षलाई स्वीकार्य समाधान निकाल्न जोडदार माग गरेको छ।
अन्त्यमा, पर्सा मदिरा व्यवसायी संघले सम्पूर्ण व्यवसायी साथीहरूलाई संयमित, अनुशासित र एकताबद्ध रहँदै आफ्नो हक–अधिकारको संरक्षणका लागि उभिन आग्रह गरेको छ।   

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update