काठमाडौं । निर्वाचन आयोग ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतदानका दिन अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध रहनेछ । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी तथा आयोगबाट पास प्राप्त गरेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।
सवारी आवागमनमा लगाइएको अस्थायी प्रतिबन्धले मतदानका दिन सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पुर्याउने र निर्वाचन सुरक्षालाई थप मजबुत बनाउने आयोगको विश्वास रहेको छ ।
त्यसैगरी, आयोगले मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको जनाएको छ । निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै ७७ वटै जिल्लामा उक्त प्रतिबन्ध कडाइका साथ लागू गरिने आयोगले स्पष्ट पारेको छ ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।



