Birgunj News24
फागुन २१ को निर्वाचन तयारी पूरा, ७५ जिल्लामा मतपत्रसहित सामग्री पुग्यो।

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको निर्वाचन आयोग नेपाल ले जनाएको छ।
आयोगका अनुसार काठमाडौं र भक्तपुर बाहेक सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) तथा ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र सुरक्षित रूपमा ढुवानी गरिसकिएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी ले ७५ जिल्लामा आवश्यक सामग्रीसहित मतपत्र पुर्‍याइएको जानकारी दिए। उनका अनुसार बाँकी रहेका काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार सामग्री र मतपत्र पठाइनेछ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा प्रबन्ध तथा मतपत्र ढुवानीलाई तीव्रता दिएको जनाएको छ। आयोगका अनुसार समयमै सामग्री पुर्‍याएर मतदान प्रक्रिया सहज, व्यवस्थित र विश्वसनीय बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
यसैबीच सुरक्षा निकायसँग समन्वय गरी संवेदनशील र अति संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा योजना लागू गरिने जनाइएको छ। आयोगले मतदातालाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न अपिल गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update