फागुन १३ पर्सा, आनन्द पटेल
निर्वाचन रिपोर्टिङलाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउन लक्षित एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला शाखाका अध्यक्ष, पदाधिकारी तथा फिल्डमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघ मधेस प्रदेश समितिले गरेको थियो।
कार्यक्रम नेपाल पत्रकार महासंघ की केन्द्रीय महिला उपाध्यक्ष नितु पंडितको अध्यक्षतामा सम्पन्न भएको हो।
समूहगत छलफलमा आचारसंहितामाथि गहिरो विमर्श-
अभिमुखिकरणका क्रममा सहभागी पत्रकारहरूलाई चार समूहमा विभाजन गरी निर्वाचन आचारसंहिता पालनाको विषयमा विस्तृत छलफल गराइएको थियो। विशेषगरी निर्वाचनको समयमा प्रकाशित हुने समाचारले आमजनतामा पार्ने प्रभाव, मतदाताको धारणा निर्माणमा सञ्चारमाध्यमको भूमिका, तथा तथ्यपरक र सन्तुलित रिपोर्टिङको आवश्यकता बारे केन्द्रित बहस भएको थियो।
छलफलपछि प्रत्येक समूहले तयार पारेका निष्कर्ष तथा सुझावहरू सामूहिक रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सिक्दै काम गर्न र सुरक्षित तरिकाले फिल्डमा गएर समाचार संकलन गर्न सुझाव दिए। साथै उनले कार्यक्रमको सञ्चालन समेत गरेका थिए ।
कार्यक्रममा पत्रकारले गर्ने मत सर्वेक्षण, समाचार सामग्रीमा त्रुटि देखिएमा सच्याउने दायित्व, तथा कुनै पनि राजनीतिक दल वा व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा–बेफाइदा पुग्ने सामग्री प्रकाशन नगर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
प्रशासन र निर्वाचन अधिकारीको विश्वास-
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस्ता अभिमुखिकरण कार्यक्रमले पत्रकारको लेखाइ, बुझाइ र समाचार उत्पादन प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले समय–समयमा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य, महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राज विश्वकर्मा र सिकेन्द्र पासवान ले निर्वाचन रिपोर्टिङका संवेदनशील पक्षहरूमा केन्द्रित सुझाव प्रस्तुत गरेका थिए।
सुरक्षित र जिम्मेवार पत्रकारितामा जोड-
कार्यक्रमकी अध्यक्ष तथा महासंघकी केन्द्रीय उपाध्यक्ष नितु पंडितले आजको छलफलले मधेस प्रदेशमा सिक्ने र आत्मसमीक्षा गर्ने संस्कृतिको राम्रो सुरुवात गरेको बताइन्। उनले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगले काम गर्न पत्रकारहरूलाई आग्रह गरिन्।
कार्यक्रममा महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, बाराका रमेश सुवेदी, धनुषाका पुरण साह, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका प्रतिनिधिहरू, विश्व पत्रकार महासंघका दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराले गरेका थिए।
अभिमुखिकरणले निर्वाचनका बेला तथ्यपरक, सन्तुलित र जनउत्तरदायी पत्रकारिता प्रवर्द्धन गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।



