काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। विशेषगरी निर्वाचन प्रचार–प्रसार र राजनीतिक गतिविधिमा बालबालिकाको प्रत्यक्ष वा परोक्ष प्रयोग नगर्न आयोगले सबै पक्षसँग अपिल गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराइएको विषय अनुगमनका क्रममा देखिएको उल्लेख छ। यस्ता गतिविधिले बालअधिकारको उल्लंघन हुनुका साथै निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्न सक्ने आयोगको भनाइ छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएका विवाद र घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। दाङलगायतका जिल्लामा दलहरूबीच उत्पन्न विवाद तथा रौतहट र पर्सा क्षेत्रमा विभिन्न समूहबीच भएका झडपका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको घटनाले शान्ति–सुरक्षामा चुनौती थपिएको आयोगको निष्कर्ष छ।
राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट एकअर्काप्रति गरिने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले सामाजिक तथा सांस्कृतिक सद्भावमा असर पार्न सक्ने भन्दै आयोगले संयमता अपनाउन आग्रह गरेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको आयोगले उल्लेख गर्दै—
बालबालिकाको प्रयोग नगर्न/नगराउन,
अमर्यादित तथा घृणायुक्त अभिव्यक्ति नदिन,
सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री नप्रसारण गर्न,
शान्ति–सुरक्षामा असर पार्ने गतिविधि रोक्न
सबै पक्षलाई पुनः आग्रह गरेको छ।



