Birgunj News24
वीरगन्ज समाज सेवा द्वारा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा लगातार २३औँ महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।

फाल्गुन ९, वीरगन्ज। वीरगन्ज समाज सेवा द्वारा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा लगातार २३औँ महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।
पछिल्लो दुई वर्षदेखि हरेक शनिबार बिहान १० बजेदेखि सञ्चालन हुँदै आएको उक्त भोजन सेवा कार्यक्रमअन्तर्गत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरूका साथै रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवाहरूलाई घरमै बनाएको जस्तो सफा, शुद्ध, गुणस्तरीय तथा पोषिलो भोजन वितरण गरिएको हो।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्र आत्मसात गर्दै विगत दुई वर्षदेखि निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार हरेक साता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्। दिनदुःखी तथा असहायको पेट भरेपछि उनीहरूको अनुहारमा देखिने खुशी नै आफूहरूको सबैभन्दा ठूलो सन्तुष्टि भएको उल्लेख गर्दै उनले सबैलाई आ–आफ्नो स्थानबाट आपसी हातेमालो गरी सेवा कार्यमा जुट्न आग्रह गरे।
त्यसैगरी, वीरगन्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंहले दिनदुःखीको सेवा नै सबैभन्दा ठूलो धर्म र कर्म भएको उल्लेख गर्दै नारायणी अस्पतालजस्तो अधिकांश विपन्नको उपचारस्थलमा निःशुल्क रूपमा स्वादिष्ट तथा पोषिलो भोजन खुवाउन पाउँदा गर्व महसुस हुने बताए। उनले मानवता बलियो बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, सेवक, शुभेच्छुक तथा आयोजक परिवारप्रति आभार व्यक्त गरे।
आजको भोजनमा शुद्ध शाकाहारी परिकारअन्तर्गत स्वादिलो भात, दाल, आलु–कोभीको मिक्स तरकारी तथा हरियो भुटेको खुर्सानीको अचार समावेश गरिएको थियो। सेवकहरूले वृद्ध, महिला तथा बालबालिकालाई बोलाएर थपी–थपी खुवाउँदै सेवा प्रदान गरेका थिए।
कार्यक्रममा समाजका सचिव प्रकाश बाहेती, निसान्त लाठ, कल्पना किङरिङ, साचे मगर, अरमान अली, बजरङ अग्रवाललगायत स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update