वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट १६० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार मधुवनीचोकतर्फ आइरहेको प्रदेश ३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कार रोकी जाँच गर्दा चालक बुद्धिलाल घलानसहित उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
गाँजा प्याकिङ गरिएको अवस्थामा कारको डिक्कीबाट फ्याँक्ने क्रममा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार पक्राउ परेका घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ। “यो अपरेसन विशेष सूचनाका आधारमा सञ्चालन गरिएको थियो,” उनले बताए।
सशस्त्र प्रहरीका अनुसार घलानको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोन समेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारततर्फ लैजान लागिएको खुलेको छ।
सीमा क्षेत्रमा हुने लागूऔषध तस्करी नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको भन्दै पर्सा जिल्ला लागूऔषध ओसारपसारको मुख्य मार्गमध्ये एक मानिने गरिएको छ।



