Birgunj News24
यादव हत्याकाण्डविरुद्ध इन्जिनियरहरूको प्रदर्शन, दोषीमाथि कडा कारबाहीको माग।

वीरगंज । सर्लाहीमा राष्ट्र सेवक कर्मचारीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

गत  फागुन ३ गते साँझ पर्यावरण विकास कार्यालय, राजविराजमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवलाई घर जाँदै गरेका बेला अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको घटनाप्रति कर्मचारी मिलन केन्द्र सर्लाही तथा जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कडा शब्दमा निन्दा गरेका हुन्।

नेपाल इन्जिनियर्स एशोसिएसनले केन्द्रमा गृहमन्त्रीलाई भेटेर दोषी पत्ता लगाई कारवाही गर्न माँग गर्दै ज्ञापन बुझाएको छ । त्यसैगरि पर्सामा पनि वीरगंजमा एशोसिएशनले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन बुझाएको छ । एशोसिएशनले   बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म कलम बन्द कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै, कार्यालय समयमा कालोपट्टी बाँधी शान्तिपूर्ण विरोध जनाउने कार्यक्रम समेत जारी छ।

साँझ ६ बजे हुने घण्टाघरमा दीप प्रज्वलन गरि  श्रद्धाञ्जली कार्यक्रम गर्ने कार्यक्रम सार्वजनीक गरेको छ । 

एशोसिएसनले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गरिएको छ। साथै शहीद घोषणा गर्नसमेत आग्रह गरिएको छ।

आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड तथा कार्यालयमा खटिनुपर्ने अवस्था रहेकाले यस्ता घटनाले कर्मचारीहरूको मनोबल खस्किएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैले सम्पूर्ण कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। यसैवीच सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

एशोसिएसनले आज गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र कार्यस्थलमा इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update