वीरगन्ज । निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई लक्षित गर्दै टिकटक भिडिओ प्रतियोगिता घोषणा गरेको छ।
आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनलाइ मध्यनजर गर्दै सार्वजनिक सूचनामार्फत प्रतियोगिता घोषणा गरेको हो ।
आयोगले निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा लगायतका विषयमा केन्द्रित भइ कम्तिमा एक मिनेट सम्मको अवधिका भिडिओ बनाउन भनेको छ ।
आयोगका अनुसार तयार भिडिओ टिकटक अकाउन्ट, फेसबुक तथा यूट्युब च्यानलमा अपलोड गर्नुपर्नेहुन्छ । सोही भिडिओ फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको ईमेल ठेगाना [email protected] मा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।
भिडिओहरुमध्ये उत्कृष्ट हुने सहभागीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।
यस्तै दोस्रोलाइ ३० हजार र तेस्रोलाइ २० हजार रुपैयाँ सहित प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
के के हुन् शर्तहरु ?
निर्वाचन आयोगले सूचनामार्फत विभिन्न ६ बुँदे शर्तहरु सार्वजनिक गरेको छ ।
टिकटक भिडिओ प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को परिवेशमा तयार गर्नुपर्ने आयोगको पहिलो शर्त छ ।
यसैगरी संवादमूलक एवम् सन्देशमूलक हुनुपर्ने, मौलिक अडियो र अभिनय भएको भिडिओलाइ प्राथमिकता दिइने आयोगले जनाएको छ ।
यस्तै निर्वाचनको सामान्य जानकारी, आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सहि तरिका, आचारसंहिताको पालना, मतदाताको अधिकार एवम् कर्तव्य, कस्तो उम्मेदवार छनोट गर्ने लगायतका छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडिओ बनाउनुपर्ने शर्त राखेको छ ।
आयोगका अनुसार एक व्यक्तिले एउटा विषयमा एउटा भिडिओ बनाएर साथै दुइ वा दुइभन्दा बढी व्यक्ति समावेश भएर भिडिओ निर्माण गर्न सक्ने बताएको छ ।
प्राप्त भिडिओमा आयोगको अधिकार रहने तथा सन्देशलाइ आयोगले आफ्नो सामाजिक सन्जालबाट प्रसारण गर्नेछ ।
तोकिएका शर्तहरु पालना नभएका, आपत्तिजनक तथा म्याद सकिएपछि पठाइएका भिडिओहरुलाइ प्रतियोगितामा समावेश नगरिने आयोगले स्पष्ट पारेको छ।
उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने जनाइएको छ ।



