वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थित जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ताले आफ्नी ममतामयी आमा ज्ञानुदेवीको स्मृतिमा आयोजना गरेको ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगरमा सुरु भएको छ।
जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको हो।
उद्घाटन समारोहमा नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले जीवन ज्योति विद्यालयले आयोजना गरेको ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिताले साना बालबालिकाहरूलाई शैक्षिक गतिविधिसँगै अतिरिक्त खेलकुद क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख सिंहले वीरगञ्जको माटोलाई चिनेर विद्यालयका सञ्चालक शिवजीप्रसाद गुप्ताले आफ्नी आमाको नामबाट खेलकुद प्रतियोगिता आयोजना गरेकोप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, “खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक विकाससँगै समाज र राष्ट्रलाई चिनाउने खेलाडी उत्पादन गर्न मद्दत गर्छ। यस्ता ग्रासरुटस्तरका प्रतियोगिताबाट नै भविष्यका उत्कृष्ट खेलाडी तयार हुन्छन्।”
उद्घाटन समारोहमा प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, प्याब्सन मधेस प्रदेश उपाध्यक्ष पुरान प्रधान, प्याब्सन सल्लाहकार मनि पाख्रिङ र लालबाबु पटेल, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्मानन्द कुशवाहा, पूर्व अध्यक्ष तथा हिसान पर्साका उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जीएचपी स्कुलका डाइरेक्टर ज्याक कौर, प्रिन्सिपल रमित कौरलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको छ। कार्यक्रममा स्वागत मन्तव्य जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।



