Birgunj News24
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर बादलले निर्वाचनलाई युद्धको संज्ञा दिँदै एमालेका कार्यकर्तालाई योद्धाका रूपमा निर्वाचनको मैदानमा उत्रिन अपिल गर्नुभएको छ।

1000513205-1770128557.jpg
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर बादलले निर्वाचनलाई युद्धको संज्ञा दिँदै एमालेका कार्यकर्तालाई योद्धाका रूपमा निर्वाचनको मैदानमा उत्रिन अपिल गर्नुभएको छ।
नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा वीरगञ्जको नगरसभागृहमा आयोजित जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले आगामी निर्वाचन राष्ट्रिय स्वाधीनता, पहिचान र अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो।
उहाँले ‘डिप–स्टेट’ प्रवृत्तिबाट भएका प्रतिगामी गतिविधिहरूका कारण मुलुकको अस्तित्वमाथि नै प्रश्न उठेको उल्लेख गर्दै यस्तो अवस्थामा एमालेका लागि निर्वाचन जित्नु अनिवार्य आवश्यकता बनेको बताउनुभयो। “यो चुनाव जित्नु हाम्रो अस्तित्व रक्षाको लडाइँ हो,” उहाँले भन्नुभयो।
उपाध्यक्ष बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक सरकार पुनःस्थापना गर्नका लागि एमालेले चुनाव जित्नैपर्नेमा जोड दिनुभयो। चुनाव जितेर मात्र मुलुकले सामना गरिरहेका संकटको समाधान सम्भव हुने उहाँको भनाइ थियो।
साथै, उहाँले इतिहासले उठाएका प्रश्नहरूको सही जवाफ नेकपा एमालेले दिने दाबी गर्दै संकटमा फसेको देशलाई निकास दिन एमालेको जित अपरिहार्य रहेको उल्लेख गर्नुभयो। राष्ट्र संकटमा पर्दा दृढ राष्ट्रवादी अडान लिने नेता केपी शर्मा ओली मात्र भएको उल्लेख गर्दै उहाँले एकताबद्ध भएर सूर्य चिन्हधारी उम्मेदवारलाई विजयी बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो।
जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, विजयकुमार सरावगी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पर्सा क्षेत्र नं. १, २, ३ र ४ का प्रतिनिधिसभा उम्मेदवारहरू क्रमशः रिमा यादव, रुपेश पाण्डे र जालिम मियाँलगायत नेताहरू सहभागी थिए।
त्यसैगरी भेलामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, प्रदेशसभा सदस्यहरू प्रमोद जयसवाल, बिना शर्मा, ठाकुर न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update