नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाले नगवा क्षेत्रमा कांग्रेसका युवा तथा अग्रज कार्यकर्ताहरूसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गर्नुभएको छ।
उक्त भेटघाट कार्यक्रममा उपस्थित कार्यकर्ता तथा स्थानीय मतदातालाई ढोग्दै उम्मेदवार रुङटाले जनताको विश्वास र भरोसालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पर्सा क्षेत्र नं. १ का जनताको भरोसा कहिल्यै टुट्न दिनेछैन। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
उहाँले विगतमा विभिन्न नेताहरूले नगवा क्षेत्रका जनतालाई भ्रममा पार्दै आएको उल्लेख गर्दै चुनाव जितेपछि नगवाको मुटुका रूपमा रहेको नगवा पोखरीको समग्र विकास गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो। “चुनाव जितेपछि मेरो प्रमुखता नगवाको मुटु नगवा पोखरी बनाउनेछु,” उहाँले स्पष्ट गर्नुभयो।
भेटघाटका क्रममा स्थानीय राजनीतिक अवस्था, पार्टी संगठनको सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीका विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। उम्मेदवार रुङटाले पार्टीको मूल विचारधारा, लोकतान्त्रिक मूल्य–मान्यता र विकासका एजेन्डालाई जनस्तरसम्म पुर्याउन युवाको भूमिका निर्णायक हुने धारणा राख्नुभयो।
उहाँले नेपाली कांग्रेसलाई अझ मजबुत र प्रभावकारी बनाउन सबै कार्यकर्ता एकताबद्ध र अनुशासित रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “युवा साथीहरूको सक्रिय सहभागिताबिना संगठन बलियो हुन सक्दैन। अब कांग्रेसको सन्देश घर–घर पुर्याउने जिम्मेवारी तपाईंहरूमाथि छ।”
कार्यक्रममा सहभागी युवा तथा अग्रज कार्यकर्ताहरूले क्षेत्रका स्थानीय समस्या, जनताको अपेक्षा तथा निर्वाचन अभियानलाई अझ प्रभावकारी बनाउने उपायबारे आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले उम्मेदवार रुङटाप्रति पूर्ण विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
कार्यकर्ताहरूले स्पष्ट दृष्टिकोण, सरल व्यक्तित्व र विकासप्रति प्रतिबद्ध नेताका रूपमा अनिल रुङटालाई प्रस्तुत गर्दै पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको अवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
उक्त भेटघाटले नगवा क्षेत्रसहित पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको संगठनात्मक गतिविधिलाई थप मजबुत बनाउने र निर्वाचन अभियानलाई नयाँ उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।



