वीरगञ्ज, पुस १० आनन्द पटेल —
डिएभी आर.बी. केडिया स्कुलमा कक्षा ११ मा भर्ना भएका नव–विद्यार्थीहरूको बिहीबार एक विशेष कार्यक्रमबीच भव्य स्वागत गरिएको छ।
स्वागत कार्यक्रम डिएभी आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षता तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवम् प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीवास्तवले कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लक्ष्य निर्धारण गरी अनुशासित र ध्यानपूर्वक अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले वीरगञ्जमा रहेका कलेजहरूमध्ये डिएभी आर.बी. केडिया स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा परिचित रहेको उल्लेख गर्नुभयो।
प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवले वीरगञ्जमै उच्च र गुणस्तरीय शिक्षा हासिल गर्न सकिने वातावरण रहेको अनुभूति दिलाउन प्याब्सनले छात्रवृत्तिमार्फत विभिन्न कलेजहरूमा विद्यार्थीहरूलाई भर्ना गराउँदै आएको जानकारी पनि दिनुभयो। कक्षा १० (एसईई) उत्तीर्णपछि विद्यार्थीहरू वीरगञ्जबाट बाहिरिने प्रवृत्तिलाई आफ्नो कार्यकालमा केही हदसम्म रोक्ने प्रयास भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा डिएभी आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रले नवप्रवेशी विद्यार्थीहरूलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणका लागि विद्यालयले शिक्षा क्षेत्रमा कुनै कञ्जुसाइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागत समारोहमा विभिन्न विषयगत शिक्षक–शिक्षिका, विद्यालय प्रशासन प्रमुख तथा डिएभी आर.बी. केडिया स्कुलका सञ्चालकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।



