बिरगंज ०९ पौष
हामी सबैको जीवनमा हरियाली र प्रकृतिको महत्व अनमोल रहेको सन्देशसहित बीरगंज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमले बीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने अभियानलाई थप बल पुगेको आयोजकहरूले बताएका छन्।
बीरगंज भन्सार कार्यालय गेट अगाडि आयोजित वृक्षारोपण कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका नगरप्रमुख मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै वातावरण संरक्षण आजको आवश्यकता भएको बताए। उनले विकाससँगै प्रकृति संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै भविष्यको पुस्ताका लागि स्वच्छ वातावरण छोड्नु हाम्रो सामूहिक दायित्व भएको धारणा राखे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारी,बिरगंज भन्सार कार्यालयका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद मैनाली,नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई तथा ट्राफिक प्रहरी प्रमुख युवराज कटुवाल,गुननिधि खकुरेलको उपस्थिति रहेको थियो। साथै सामुदायिक प्रहरीका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले वातावरणीय प्रदूषण, जलवायु परिवर्तन र हरियालीको घट्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्ता वृक्षारोपण कार्यक्रमले सहरको सौन्दर्य मात्र नभई नागरिकको स्वास्थ्य र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने बताए। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपण गरिनुका साथै ती बिरुवाको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा सबै पक्षले जिम्मेवारी लिनुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै बीरगंजलाई ‘ग्रीन सिटी’को रूपमा विकास गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता वातावरणमैत्री गतिविधि सञ्चालन गरिने जानकारी दिएको थियो ।



