Birgunj News24
शीतलहर र बाक्लो हुस्सुबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको आग्रह।

वीरगञ्ज, पुस ८ | आनन्द पटेल
यस वर्ष शीतलहर तथा जाडो याम सुरु भइसकेको र पर्सा जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सूचनामा शीतलहर तथा अत्यधिक जाडोको प्रत्यक्ष असर विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, सीमान्तकृत वर्ग, गरीब तथा पिछडिएको समुदायमाथि बढी पर्न सक्ने उल्लेख गरिएको छ। यस्तो अवस्थामा शीतलहरको जोखिम न्यूनिकरण गर्न सबै नागरिकलाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले जाडोबाट बच्न न्यानो कपडाको जोहो गर्न, शरीरका सबै भाग ढाक्ने गरी सफा, बाक्लो र न्यानो लुगा लगाउन तथा अत्यावश्यक बाहेक लामो समय घर बाहिर नबस्न आग्रह गरेको छ। सुत्दा न्यानो सिरक, कम्बल प्रयोग गर्न र छाती तथा टाउको अनिवार्य रूपमा ढाक्न पनि सूचनामा उल्लेख छ।
चिसोको समयमा आगो तापेर वा विद्युतीय उपकरण प्रयोग गरी शरीर न्यानो राख्न सकिने तर कोठाभित्र आगो बाल्दा वा हिटर प्रयोग गर्दा झ्यालढोका खुला राखी पर्याप्त अक्सिजनको आवतजावत सुनिश्चित गर्नुपर्ने प्रशासनले जनाएको छ। साथै, सुत्नु अघि आगो निभाएर तथा विद्युतीय उपकरण बन्द गर्न अनिवार्य गरिएको छ।
प्रशासनले बेलाबेलामा तातो पानी तथा पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरेको छ। ज्वरो, झाडापखाला, दम बढ्ने, खोकी, घ्यारघ्यार हुने वा सास फेर्न कठिनाइ जस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ।
यसैगरी घरेलु पशुपन्छीलाई सकेसम्म खुला स्थानमा नराखी गोठभित्र न्यानो वातावरणमा राख्न, पर्याप्त घाँस, पराल तथा दाना उपलब्ध गराउन तथा पशुपन्छी बिरामी भएमा नजिकको पशु चिकित्सालय वा स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
हुस्सु वा कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाईट तथा आवश्यक परे हेडलाईट बालेर सावधानीपूर्वक सवारी चलाउन र हर्न प्रयोग गर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ। साथै, चिसो वा भिजेको कपडा नलगाउन प्रशासनले सबैलाई सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरको समयमा सबै नागरिकले सावधानी अपनाई आफू तथा परिवारको सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update