Birgunj News24
भेँडाहा खोलाबाट नदीजन्य पदार्थ उत्खननबारे सार्वजनिक सुनुवाइ सम्पन्न।

पुस ७ वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–३१ मा अवस्थित भेँडाहा खोलाबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी तथा बालुवा) को वैज्ञानिक र वातावरणमैत्री उत्खनन तथा संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ को कार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सुनुवाइमा प्रस्तावित उत्खनन कार्यले वातावरण, जैविक विविधता, कृषि भूमि तथा स्थानीय बासिन्दामा पार्न सक्ने सम्भावित प्रभावबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा खोलाको प्राकृतिक स्वरूप संरक्षण, कटान नियन्त्रण, प्रभावित क्षेत्रको पुनःस्थापना, धुलो तथा ध्वनि प्रदूषण न्यूनिकरण, उत्खननको समय निर्धारण र कानुनी मापदण्ड पालना लगायतका विषयमा सरोकारवालाहरूले सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र प्रतिक्रियालाई समेटेर अन्तिम प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिने जानकारी सुनरस  कन्सल्टेन्सी एन्ड ट्रेडर्स प्रा.लि. का वन विज्ञ सदस्य शुभम प्रसाद चौरसियाले दिनुभयो। उहाँका अनुसार वैज्ञानिक र वातावरणमैत्री ढंगले उत्खनन कार्य अघि बढाउँदै राजस्व वृद्धि तथा स्थानीय विकासमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ।
सुनुवाइ कार्यक्रममा वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वीरगञ्ज महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश एर, सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर भुपाल रोकाया, कविता दास, हैदर अन्सारी, बालेश्वर चौधरी, बालेश्वर गोरो लगायत स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, वातावरण विज्ञ तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update