वीरगंज ।
भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजना तथा वीरगंज कलाकार समाज पर्साको सहकार्यमा शुक्रबार अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा वीरगंज महानगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा सहभागीमध्ये श्री शारदा माध्यमिक विद्यालयकी छात्रा सञ्जु कुमारी बैठा प्रथम, श्री महानन्द प्र. उपाध्याय माध्यमिक विद्यालयका मनन महतो द्वितीय तथा श्री द्वारदेवी माध्यमिक विद्यालयका सञ्जिव राम तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कदर–पत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भोजपुरी प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा प्रतिष्ठानलाई विशेष प्याकेज तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बालबालिकाको सिर्जनात्मक क्षमता विकासका लागि चित्रकलाजस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै महानगरपालिकाले शैक्षिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयस्तरमै कला र साहित्यको अभ्यासले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। वरिष्ठ लेखक दिनेश गुप्ताले भोजपुरी भाषा र लोकसंस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई यस्ता प्रतियोगितामार्फत जोडिनु सकारात्मक संकेत भएको बताउनुभयो।
कार्यक्रम सञ्चालन माधुरी महतोले गर्नुभएको थियो।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहकोसभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगंज कलाकार समाज पर्साका सचिव सञ्जय गिरी, कार्यक्रम संयोजक तथा भोजपुरी प्रतिष्ठानका कार्यसमिति सदस्य मुकेश महतो, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



