वीरगंज । युथ सर्भ फाउण्डेशनको आयोजनामा मंगलवार ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राधेमाईस्थित एसआर ग्यालेक्सी एकेडेमीमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको फाउण्डेशनका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए।
कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी गरिएको अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, नियम पालनाको महत्त्व, युवाहरूमा सचेतना विस्तार तथा विद्यार्थीको भूमिकाबारे विस्तृत रूपमा जानकारी दिइएको उनले बताए।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालले विद्यार्थीहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नियम नमान्दा दुर्घटना हुनसक्ने भएकाले सदैव सावधानी अपनाउनुपर्नेमा जोड दिए। सडक पार गर्दा अपनाउनुपर्ने सतर्कता, सवारी साधन प्रयोगका अनिवार्य नियम, हेल्मेट प्रयोगको आवश्यकतादेखि जथाभावी गति र मोबाइल प्रयोगका जोखिमसम्मका विषयमा उनले मार्गदर्शन प्रदान गरे।
उनले भने, “सडकमा सधैं अनुशासित भएर हिँड्नु नै सुरक्षा हो। नियम पालना नगर्दा क्षणमै दुर्घटना हुन सक्छ।”
फाउण्डेशनका अध्यक्ष नकुल साह कानुले बाल्यकालदेखि नै ट्राफिक सचेतना आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले भविष्यमा सुरक्षित सडक परिवेश निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले विद्यालयस्तरमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाए।
एसआर ग्यालेक्सी एकेडेमीका प्रधानाध्यापक शर्मानन्द कुशवाहाले व्यवहारिक शिक्षाको महत्त्व उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच विकास हुने र जिम्मेवार नागरिक बन्न प्रेरणा मिल्ने बताए। विद्यालय व्यवस्थापनले ट्राफिक सचेतना अभिवृद्धिमा योगदान पुर्याएकोमा आयोजकप्रति धन्यवाद पनि व्यक्त गर्यो।
कार्यक्रममा प्रधानाध्यापक शर्मानन्द कुशवाहा, युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल साह कानु, उपाध्यक्ष राहुल ठाकुर, कोषाध्यक्ष अंकित चौरसिया, सचिव सोनालाल सहनीलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक चिन्हका अर्थ, सडक संकेतहरूको महत्व तथा ट्राफिक सुरक्षामा आफ्नो भूमिकाबारे उत्साहपूर्वक सिकेका थिए।



