लमजुङ २१ असाेज । लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन् । चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा शनिबार अपरान्ह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएको असोज १० गते आफनै छोरा २८ वर्षीय सुजन विकले चक्कु प्रहार गर्दा बाबु घाइते भएका थिए ।
स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिए पछि सुजनले बाबुलाई पाखुरामा हिर्काएका थिए । त्यसपछि बाबुले गाली गरेको र छोराले चक्कु ल्याएर प्रहार गर्दा बाबु गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए । घटनामा संलग्न सुजनलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।



