Birgunj News24
बृहत वृक्षारोपण अभियानको ३४औँ दिन : भारतीय दूतावास अधिकारीको विशेष उपस्थिति।

अभिलाष गुप्ता
बिरगंज १८ मंसिर

बिरगंज महानगरपालिकालाई हरियालीयुक्त, स्वच्छ र सौन्दर्यपूर्ण शहरका रूपमा विकसित गर्ने उद्देश्यले सञ्चालन भइरहेको बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियान लगातार ३४औँ दिन पनि निरन्तर रूपमा अघि बढ्यो। बिरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त सहकार्यमा भइरहेको यो अभियानले सीमाक्षेत्रको वातावरणीय संरक्षणमा उल्लेखनीय योगदान दिइरहेको छ।

आजको कार्यक्रममा बिरगंजस्थित भारतीय दूतावासका Consul (ICS), Consulate General of India, Birgunj मनिष कुमार दास विशेष अतिथिका रूपमा उपस्थित रहे। उनले अभियानप्रति प्रशंसा व्यक्त गर्दै सीमाक्षेत्रको वातावरणीय संरक्षण, मैत्रीपूर्ण सम्बन्ध र सामुदायिक सहकार्यका लागि यस्तो पहल निकै उपयोगी हुने बताए।

दूतावास अधिकारी दासले वृक्षारोपण मात्र नभई बिरुवाहरूको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनले नेपाल–भारत सीमावर्ती शहरहरूको वातावरणीय सुधार दुबै देशका नागरिकका लागि लाभदायक रहेको उल्लेख गरे।

वृक्षारोपण कार्यक्रममा नगर प्रहरी, सामुदायिक प्रहरी, सशस्त्र प्रहरी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, स्थानीय अगुवाहरू तथा सञ्चारकर्मीहरूको सहभागीता उल्लेखनीय थियो। सुरक्षा निकायका प्रतिनिधिहरूले सीमाक्षेत्रको सुरक्षासँगै वातावरणीय जिम्मेवारी पनि महत्वपूर्ण रहेको बताउँदै अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

अभियान सुरू भएको ३४ दिनमा सयौँ बिरुवाहरू रोपिएका छन्। अधिकांश स्थानमा संरक्षणका लागि तारजाली, बाँसको ढाँचा र सिँचाइ व्यवस्था मिलाइएको आयोजकहरूले जानकारी दिए। स्थानीय बासिन्दा, व्यापारी तथा समुदायका प्रतिनिधिहरू पनि दैनिक रूपमा अभियानमा सहभागी हुँदै जाँदा कार्यक्रमले व्यापक समर्थन पाएको छ।

आगामी दिनहरूमा यो अभियानलाई अझ दिगो र प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरका हरियाली गतिविधि तथा समुदायसँगको समन्वय विस्तार गर्ने तयारी भइरहेको आयोजकहरूले बताएका छन्।

बिरगंज महानगरपालिका तथा विभिन्न सुरक्षानिकायहरूको समन्वयमा अघि बढिरहेको बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियानमा आज भारतीय दूतावास अधिकारीको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा र प्रोत्साहन मिलेकै छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update