Birgunj News24
वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम

वीरगञ्ज ११ मंसिर आनन्द पटेल 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा प्रहरी कार्यालय विर्ता, पर्सा तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाह सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक बिक्रम सुवेदीले कक्षा ९ का विद्यार्थीहरूलाई दाइजो प्रथाले निम्त्याउने आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरबारे विस्तृत जानकारी गराउँदै दाइजो लिन–दिनु दुवै कार्य कानुनी रूपमा दण्डनीय रहेको बताउँदै सचेत गराए। बालविवाहले युवतीहरूमा गम्भीर स्वास्थ्य समस्या, शिक्षा छाड्ने अवस्था र घरेलु हिंसा बढ्ने जोखिम उच्च हुने उल्लेख गर्दै उनले बालविवाह रोकथामका लागि विद्यार्थी स्वयंले पनि सक्रिय भूमिका निभाउनुपर्नेमा जोर दिए।

निरीक्षक सुवेदीले लैंगिक हिंसा रोकथाममा समुदाय–प्रहरी सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै युवाहरू समाज परिवर्तनका मुख्य वाहक हुन्, भन्दै गलत संस्कारविरुद्ध जागरूकता फैलाउन आग्रह गरे।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा तथा सचिव श्रवण बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो।सो अवसरमा स्कुलका निर्देशक सुल्भ केसी, समाजसेवी सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update