Birgunj News24
प्रदेश सरकारको राहत कार्यक्रम: किसानलाई प्रतिकठ्ठा १५००, युवालाई जीवन निर्वाह भत्ता

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै, प्रदेशका बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने तयारीसमेत गरिएको छ।

बुधवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले दुबै राहत कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।

किसानका लागि ३६ करोड बराबरको राहत-

मुख्यमन्त्रीका अनुसार प्रदेशभरका किसानलाई राहत वितरण गर्न करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

दीर्घ खडेरीपछि परेको अविरल वर्षाका कारण धानबालीमा दोहोरो क्षति भएको र यही अवस्थाका कारण धेरै स्थानीय तहलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको उनले उल्लेख गरे।

बेरोजगार युवाका लागि भत्ता योजना-

प्रदेश सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर रोजगारविहीन युवालाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने तयारी गरेको छ।

प्रदेश सरकारका तथ्यांकअनुसार मधेश प्रदेशमा हाल १ लाख ४८ हजार जति बेरोजगार युवा छन्।

“राष्ट्रिय युवा नीतिले परिभाषित गरेको १८–३५ वर्ष उमेर समूहका बेरोजगार स्नातक युवालाई प्रतिमहिना २ हजार रुपैयाँ ‘जीवन निर्वाह भत्ता’ दिनका लागि प्रक्रिया अघि बढाइरहेका छौँ,” मुख्यमन्त्री यादवले भने।

उनका अनुसार यो योजनाले बेरोजगार युवा वर्गलाई संकटको अवस्थामा आधार दिने र अस्थायी रुपमा जीवनयापन सहज बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update