Birgunj News24
“मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भन्दै सात दल सडकमा”।

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज (आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् ।

जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको भन्दै राष्ट्रिय झण्डासहित सडकमा आएको लोसपाका सांसद परमेश्वर साहले जानकारी दिए । उनले आज अदालतले न्यायपूर्ण फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

अन्य प्रदेशहरुमा पनि समान परिस्थितिको मुद्दाको नजिर अनुसार पनि आफूहरुको जित हुनेमा विश्वस्त रहेको सांसद साहले बताए । यदीे सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए ।

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै महोत्तरीको एक होटलमा सपथ खुवाएका थिए । त्यसको विरोध गर्दै सात राजनीतिक दलहरुले निरन्तर विरोध गर्दै आएका छन् भने अदालतमा रिट समेत जारी गरेका थिए ।

सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ भने सम्पूर्ण कागजातसहित दुबै पक्षलाई आज छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update