जनकपुर, मधेस प्रदेश —
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा रहेको सरकार संकटमा परेको छ। प्रदेश सभामा आज भएको विश्वासको मत सम्बन्धी छलफलका क्रममा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने घोषणा गरेका हुन्।
सदनको बैठकमा बोल्ने क्रममा सांसद अन्सारीले असन्तुष्टि जनाउँदै आफ्नो अनुहारमा कालो मसो लगाई विरोध प्रदर्शन समेत गरे। उनले सोनल नेतृत्वको सरकार जनअपेक्षा र सहमतिको आधारमा अघि नबढेको आरोप लगाउँदै विश्वासको मत नदिने बताएका हुन्।
सांसद अन्सारीसँगै माओवादीकी अर्की महिला प्रदेश सांसदले पनि विश्वासको मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री सोनलको पक्षमा आवश्यक मत जुटाउन कठिन भएको विश्लेषण गरिंदैछ।
यससँगै प्रदेशमा सरकार परिवर्तन वा नयाँ सत्ता संयोजनका सम्भावना बढेका छन्। अब हुने मतदानमा मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने वा नपाउने भन्ने विषयले मधेस प्रदेशको राजनीतिक दिशा निर्धारण गर्ने अनुमान गरिएको छ।



