कार्तिक २१, रौतहट आनन्द पटेल — भारतको बिहार राज्य तथा पूर्वी चम्पारण जिल्लामा हुने विधानसभा निर्वाचनको दोस्रो चरणलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रौतहट जिल्लाका नेपाल–भारत सीमा नाकामा तीन दिनका लागि आवत–जावत बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश कुमार भुसालले जारी गरेको सूचनाअनुसार कार्तिक २२ गते साँझ ६:०० बजेदेखि कार्तिक २५ गते साँझ ६:०० बजेसम्म सीमा नाकाबाट हुने सबै प्रकारका मानिस तथा सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।
यस अवधिमा व्यापारिक, सांस्कृतिक, व्यक्तिगतरूपमा हुने दैनिक आवाजाही, सार्वजनिक तथा निजी सवारी साधनसमेत सञ्चालनमा रोक लाग्ने जिल्ला प्रशासनले जनाएको छ।
यद्यपि एम्बुलेन्स र स्वास्थ्य आपतकालीन सेवामा मात्र आवश्यक समन्वयका आधारमा आवत–जावत गर्न सकिने व्यवस्था रहनेछ।
प्रमुख जिल्ला अधिकारी भुसालले “निर्वाचन अवधिमा सीमावर्ती क्षेत्रमा सुरक्षालाई सुदृढ बनाउँदै सम्भावित अवाञ्छित क्रियाकलाप रोक्न सीमा बन्द गरिएको हो,” भन्दै स्थानीयवासीलाई सहयोग र संयमता अपनाउन अनुरोध गरेका छन्।



