Birgunj News24
निर्वाचनका लागि बारामा मतदाता नामावली दर्ता गराउने भीड बढ्दो।

बारा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ ।

राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत नविन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी गरेपछि कार्तिक १९ गतेसम्म  तनि हजार ८५०  जना नयाँ मतदाता थपिएका छन् ।

ती मध्ये दुई हजार हजार ४३७ पुरुष र एक हजार ४१३ जना महिला गरि तीन हजार ८५० जना नयाँ मतदाता थपिएका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दैनिक दुई सयदेखि २५० जना सेवाग्राही नाम दर्ता, संशोधन र अद्यावधिकका लागि कार्यालय आउने गरेका छन् ।”

आयोगले नाम दर्ता तथा अद्यावधिकको समय कार्तिक मसान्तसम्म तोकेको छ, नाम दर्ता प्रक्रिया खुला गरेपछि दैनिक सयौँ नागरिकहरू कार्यालयमा आउने गरेका छन् ।

यस्तै, १७८ जनाले नाम, ठेगाना र थरमा त्रुटि सच्याउने तथा अद्यावधिक गराउने काम गरेका छन् ।बारा जिल्लामा हालसम्म कुल मतदाता सङ्ख्या चार लाख ४० हजार ५१५ जना रहेका छन् ।

तीमध्ये एक लाख ९९ हजार ३४३ जना महिला, दुई लाख ४१ हजार १६१ जना पुरुष र ११ जना अन्य तेश्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । यो सङ्ख्या २०८२ असार मसान्तसम्मको तथ्याङ्क हो ।

उहाँका अनुसार, दरबन्दी अभावका बीच पनि कार्यालयले सहायक कर्मचारीहरूको सहयोगमा हरेक दिन बिहान ८ बजेदेखि साझा ६ बजेसम्म मतदाता नामावली दर्ता, संशोधन र अद्यावधिकको कार्य नियमित रुपमा सञ्चालन भइ रहेको सिंहले बताउनुभयो।

निर्वाचन नजिकिँदै गर्दा जनचासो र सहभागिता बढ्दै गएको देखिएको छ । स्थानीय तहका बासिन्दाहरू आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन् ।

युवादेखि वृद्धासम्मको नागरिकहरू लोकतान्त्रिक अधिकारको प्रयोगका लागि मतदाता नामावलीमा नाम समावेश गराउन उत्साहपूर्वक कार्यालयमा आउने गरेका छन् ।

निर्वाचन कार्यालयले नाम छुटेका मतदाताहरूलाई निर्धारित समयभित्र नाम दर्ता गर्न अनुरोध गर्दै सूचना अभियान पनि सञ्चालन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update