वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
वीरगञ्ज–पर्सा सीमा क्षेत्रमा संयुक्त गस्ती टोलीद्वारा कटुवा पेस्तोल सहित दुई जना पक्राउ
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (SSB) को संयुक्त गस्ती टोलीले पर्सा–भारत सीमा नजिकै कटुवा पेस्तोल सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतको SSB 47 बटालियन ए कम्पनी, हेडक्वार्टर्स पनटोकाबाट ५ जना गरी संयुक्त टोली गस्तीमा खटिएको थियो।
गस्तीका क्रममा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारततर्फ पूर्वी चम्पारण, नुनियाडी पंचायत–१ अहिर्वा क्षेत्रको सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिक झाडीमा लुकी बसेका दुई जनालाई फेला पारिएको हो।
पक्राउ परेकाहरूमा
वीरगञ्ज महानगरपालिका–५, कुम्हालटोलका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल
बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका–७ का अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्।
उनिहरू बसेको स्थानमै गरिएको तलासीका क्रममा बोरा भित्र कटुवा पेस्तोल एक थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद हतियारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योन्जनले जानकारी दिए।



