बारा, परवानीपुर । आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी स्थित सडक खण्डमा टाटा सुमोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना।१ ज ७३७३ नम्बरको टाटा सुमोले बाटोमा हिँडिरहेका ६५ वर्षीय गौरीशंकर साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा साहको घटनास्थलमै मृत्यु भएको छ। सोही क्रममा सुमो नजिकैको बिजुली पोलमा ठोकिँदा पोल समेत भाँचिएको र सुमो घटनास्थलमै रहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि सुमो चालक बाराको प्रसौनी गाउँपालिका–७ बलुवाका २२ वर्षीय राजन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय प्रसौनी, बारामा राखिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा टोली खटिएको थियो भने मुचुल्का कार्यका लागि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा अर्को टोली समेत पुगेको थियो।
घटनापछि मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाइएको छ। दुर्घटनामा संलग्न सुमो हाल इलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा रहेको र घटना सम्बन्धी थप जानकारी भइरहेको प्रहरीले जनाएको छ।



