Birgunj News24
तराई–मधेश छठमय, सूर्य उपासना पर्वको तयारी तीव्र।

वीरगन्ज । तराई–मधेश क्षेत्रमा दिपावली सकिएसँगै अब सूर्यदेवको उपासना गरिने आस्थाको महापर्व छठको तयारीले तीव्रता पाएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व यस वर्ष कार्तिक १० र ११ गते पर्ने भएकोले अहिले सम्पूर्ण मधेशी समुदाय छठमय बनेको छ।

भोजपुरी र मैथिली भाषी हिन्दूहरूको यो प्रमुख पर्वका लागि आवश्यक पर्ने सामग्रीहरूको किनमेल अहिले नै सुरु भइसकेको छ। बजारहरूमा पूजाका सामग्री, नयाँ भाँडावर्तन, कपडा, फलफूल तथा प्रसादका लागि आवश्यक पर्ने वस्तुहरू किन्नेहरूको भीड बढेको छ।

छठमा नयाँ वस्त्र धारण गर्ने चलन भएकाले कपडा पसल र ठूला डिपार्टमेन्ट स्टोरहरूमा पनि ग्राहकको घुइँचो लागेको छ।
यसैगरी, छठ पर्वको मुख्य केन्द्रबिन्दु मानिने नदी, तलाउ र पोखरी किनारका छठीघाटहरू सरसफाइ र सजावटमा जुटेका छन्। छठको मुख्य दिन षष्ठीको साँझ अस्ताउँदो सूर्य र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ।

वीरगन्जका प्रमुख जलाशयहरू— घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, छपकैया पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा, अलौलगायतका स्थानमा छठ पर्वको भव्य तयारी भइरहेको छ।

पूजाका लागि यी स्थलहरूलाई आकर्षक पण्डाल, टेन्ट र रंगीविरङ्गी बिजुली बत्तीले झिलिमिली बनाउने काम तीव्र गतिमा भइरहेको छ। छठीघाटको सजावटमा स्थानीय व्यवस्थापन समितिहरूले ठूलो धनराशि खर्च गर्ने गरेका छन्।

वीरगन्जको प्रसिद्ध घडीअर्वा पोखरी पार्कमा मात्र यस वर्ष करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए। उनका अनुसार, सजावटको कामलाई भव्यता दिन भारतबाट समेत दक्ष कारीगरहरू ल्याइएको छ।

तराई–मधेशका सहर तथा गाउँहरू अहिले छठको धार्मिक रौनक, गीतसंगीत र उमङ्गले उज्यालो बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update