Birgunj News24
७० औं प्रहरी दिवस: वीरगंजमा विशेष रक्तदान कार्यक्रम सम्पन्न ।

वीरगंज, ३० असोज आनन्द पटेल  – नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित यस कार्यक्रममा प्रहरी जवान, अधिकारी, नागरिक समाजका प्रतिनिधि र स्थानीय स्वयंसेवकहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा एक जना महिला सहित कुल ६७ जनाले रक्तदान गरेका छन्। रक्तदाता सूचीमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह लगायतका व्यक्तिहरू रहेका थिए।

कार्यक्रमको विशेष उपस्थितिमा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक र डिएसपी किशोर लम्साल रहेका थिए। उनीहरूले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।

पुलिस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्रहरी संगठनको मानवसेवा, अनुशासन र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्किएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update