Birgunj News24
बारामा माटोको ढिस्को खस्दा २ को मृत्यु, ६ घाइते।

वीरगन्ज । बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएका दुई जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेहरूमा सिम्रौनगढ नगरपालिका–६ की ७० वर्षीया सारदा देवी महतो र वडा नम्बर ५ का १५ वर्षीय सुनिल महतो रहेका छन्।

सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको इशरा पोखरीको डिलमा तिहारका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा आज बिहान ८ः५० बजेतिर माटोको ढिस्को खस्दा उनीहरू पुरिएका थिए।

सो दुर्घटनामा कुल ८ जना परेका थिए, जसमध्ये दुईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा वडा नम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडा नम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी तथा १५ वर्षीय राजाबाबु शर्मा रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update