वीरगंज, असोज २१।
अविरल वर्षाका कारण डुबानमा परेका पर्सा जिल्लाको वीरगंज महानगरपालिका–११ स्थित डोम बस्तीका बासिन्दालाई सामाजिक संस्था जिल्ला समन्वय समिति (NGO Coordination Committee – NGOCC) पर्सा ले राहतस्वरूप खाद्यान्न वितरण गरेको छ। गत शनिबार र आइतबारको लगातार वर्षाले कृषि ज्ञान केन्द्र पछाडिको डोम बस्तीमा घरभित्रसम्म पानी पसेर बाढी आएको थियो। सो डुबानका कारण बस्तीका धेरै घरधुरीका लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका सामग्री बगाएका थिए।
प्राकृतिक प्रकोपका कारण प्रभावित बनेका स्थानीय बासिन्दाको सहयोगका लागि NGOCC पर्साले मंगलबार ३० घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरेको हो। राहत वितरण कार्यक्रम समितिका जिन्सी शाखा प्रमुख दुलारचन्द प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रमका क्रममा जिन्सी शाखा प्रमुख साहले स्थानीयहरूसँग संवाद गर्दै स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।
उनले भने,
“हाल डोम बस्तीमा हैजा फैलन सक्ने जोखिम छ। त्यसैले उमालेर मात्र पानी पिउनुहोस् र खानु अघि हात–मुख राम्ररी सफा गर्नुहोस्।”
साहका अनुसार, बाढीपछि पानी प्रदूषित भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता अत्यावश्यक छ। उनले आगामी दिनमा थप राहत कार्यक्रम अन्य संस्थासँग समन्वय गरेर सञ्चालन गर्ने र हैजा तथा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान हाल वीरगंजका ११ वटै वडामा सञ्चालन भइरहेको जानकारी पनि दिए।
राहत वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्देश चौहान, गुडी कुमारी साह, प्रिया कुशवाहा, आनन्द कुमार यादव, नन्दनी गुप्ता, सन्तोष साह, आरती कुमारी, शिवशंकर प्रसाद साह, असई लालबाबु साह, र हवल्दार कृष्ण प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। /gहत वितरणबाट लाभान्वित हुनेहरूमा विनोद मली, बद्री मली, दीपक मली, विश्वनाथ मली, भुवर मली, सुरेन्द्र मेस्तर, बैधनाथ मली, गोलु मली, गजेन्द्र मेस्तर, मुकेश मेस्तर, सुरेश मेस्तर, करण मेस्तर, राधा मारुती, सामलाल मली, रमेश मली, विजय थापा लगायत ३० घरपरिवार रहेका छन्।
राहत पाएका स्थानीय विनोद मलीले भने,
“बाढीले सबैथोक बगायो, घरभित्र खाने केही थिएन। अहिले पाएको खाद्यान्नले केही राहत महसुस भएको छ,”
भन्दै सामाजिक संस्थाप्रति आभार व्यक्त गरे।



