
वीरगन्ज । गत असार १८ र १९ गतेको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशहरूमा बाढी, पहिरो, चट्याङ र दुर्घटनाका घटनाले ठूलो मानवीय क्षति पुर्याएको छ ।
सशस्त्र प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार, यो दुई दिने विपत्तिमा परी कुल ४९ जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन् र ७ जना बेपत्ता छन् ।
विपत्तिमा कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रदेशको इलाम जिल्लामा बाढीपहिरोका कारण सर्वाधिक ३७ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते छन् र १ जना बेपत्ता छन् । त्यसैगरी, पाँचथरमा गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । उदयपुरमा बाढीपहिरोका कारण २ जनाको मृत्यु र १ जना घाइते भएको तथ्याङ्क छ । यसै क्रममा खोटाङमा चट्याङका कारण १ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् भने भोजपुरमा चट्याङबाट २ जना घाइते भएका छन् ।
मधेश प्रदेशको रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ । बारामा बाढीले बगाएर १ जना बेपत्ता भएका छन् । बागमती प्रदेशअन्तर्गत रसुवामा बाढीले बगाएर ४ जना बेपत्ता भएका छन् भने काठमाडौंमा पनि बाढीले बगाएर १ जना बेपत्ता भएका छन् । मकवानपुरमा चट्याङका कारण १ जना घाइते भएका छन् ।
विपद्को जोखिम अझै कायम रहेकाले सरकारी तथा सुरक्षा निकायहरूले उद्धार र राहत कार्यलाई प्राथमिकतामा राख्दै देशभरका नागरिकहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।