
वीरगन्ज । नेपालमा वर्षा गराएको न्यून चापीय मौसम प्रणाली बाहिरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, यो प्रणाली बहिर्गमन भएसँगै मनसुन कमजोर भएको र मौसममा सुधार आइसकेको छ ।
जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै, असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा भएको जानकारी दिइन् । यसैगरी, कोशी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि अति भारी वर्षा मापन भएको थियो ।
असोज १९ गते बिहान ८ः४५ बजेसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन गरिएको थियो । जसमध्ये १०५ केन्द्रमा ५० मि.मी.भन्दा बढी, ६८ केन्द्रमा १०० मि.मी.भन्दा बढी, २१ केन्द्रमा २०० मि.मी.भन्दा बढी र ५ केन्द्रमा ३०० मि.मी.भन्दा बढी वर्षा भएको थियो ।
विभागका अनुसार, अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका मुख्य नदीहरूमा जलसतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन् ।
सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ । कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रबाट उत्पन्न नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तहको नजिक स्थिर रहेको हुँदा असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।