Birgunj News24
लगातारको वर्षासँगै सिरिसिया नदीमा आएको बाढीका कारण वीरगन्ज महानगरपालिकाका बस्तीहरू डुबानमा परेका छन् ।

वीरगन्ज । लगातारको वर्षासँगै सिरिसिया नदीमा आएको बाढीका कारण वीरगन्ज महानगरपालिकाका बस्तीहरू डुबानमा परेका छन् । महानगरको वडा नम्बर ११, १३ र २४ का बस्तीहरूमा गम्भीर क्षति पुगेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीका अनुसार बाढी प्रभावित क्षेत्रबाट करिब ३०० देखि ४०० घरका बासिन्दालाई तत्काल निकालेर सुरक्षित स्थानमा सारिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाल सेना र सशस्त्र प्रहरीको टोली बाढीग्रस्त क्षेत्रमा खटिएको छ ।

प्रजिअ सुवेदीले आज बिहान बसेको सुरक्षा समितिको बैठकको निर्णयबारे जानकारी दिँदै, सुरक्षित स्थानमा राखिएका विस्थापितहरूलाई खाद्यान्न सामग्री वितरण गर्ने, उनीहरूको स्वास्थ्य जाँच गर्ने र घाइतेहरूको औषधी उपचारको काम पनि भइरहेको बताए ।

आज साँझसम्म पानीको सतह कम भएपछि मात्र विस्थापितहरूलाई घर फर्काउने योजना रहेको छ । यदि पानीको सतहमा कमी नआएमा उनीहरूलाई आज राति पनि सुरक्षित स्थानमै राखिनेछ ।

यसका साथै, वीरगन्जको वडा नम्बर १, १० र २३ का क्षेत्रहरू पनि डुबानमा परेका छन् । ती क्षेत्रमा रहेका नागरिकहरूलाई उच्च निगरानीमा राखिएको र आवश्यकता अनुसार तत्काल उद्धार गर्नका लागि तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update