
वीरगंज, असोज १४/ राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भीषण ग्याङ फाइट भएको छ। घटनामा एक युवकको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार, गहवामाई मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। झगडाको क्रममा घाइते भएका गोल्डेन खान नामका युवकलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।
मृतक वीरगंज–१०, अशोक वाटिका निवासी करिब १८ वर्षीय गोल्डेन खान भएको एक स्थानीयले बताएका छन्।
घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।
मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। थप विवरण आउन बाँकी छ।