Birgunj News24
जेनजी प्रदर्शन’मा ६५ सयभन्दा धेरै गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार।

वीरगन्ज । पछिल्लो समय देशभर भएका जेनजी प्रदर्शन नियन्त्रण गर्न नेपाल प्रहरीले अत्यधिक बल प्रयोग गरेको तथ्य आन्तरिक रिपोर्टबाट सार्वजनिक भएको छ।

प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको विवरण अनुसार प्रदर्शनका क्रममा ६ हजार ५ सयभन्दा धेरै गोली प्रहार भएको भेटिएको छ। यो प्रतिवेदन हालै आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, भदौ २३ र २४ गतेका प्रदर्शनहरूमा मात्र ४ हजार राउन्डभन्दा बढी जङ्गी गोली खर्च भएको थियो। यसका साथै, काठमाडौँको बानेश्वरसहित देशभर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन २ हजार ५ सयभन्दा धेरै रबर बुलेट प्रहार गरिएको भेटिएको छ।

गोलीका साथै भिड नियन्त्रण गर्न प्रहरीले २ हजार ५ सयभन्दा बढी ‘ब्ल्यांक राउन्ड’ पनि फायर गरेको थियो, जसले ठूलो आवाज मात्र निकाल्छ। प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँसको पनि व्यापक प्रयोग गरिएको थियो। देशभर कुल ८ हजार सेल अश्रुग्याँस प्रहार भएकोमा काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल प्रयोग गरिएको थियो।

उपत्यकाभित्र बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ लगायतका क्षेत्रमा अश्रुग्याँस हानिएको थियो। सबैभन्दा रोचक त, प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा मात्र प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको पाइएको छ, भने मधेश प्रदेशमा ६ सय सेल अश्रुग्याँस खर्च भएको विवरण रिपोर्टमा छ। यो तथ्याङ्कले ठूलो प्रदर्शन नियन्त्रण गर्न प्रहरीले घातक तथा अघातक दुवै प्रकारका हतियारहरूको प्रयोगलाई कति व्यापक बनाएको थियो भन्ने स्पष्ट पार्दछ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update