Birgunj News24
पर्सा प्रहरीको नयाँ योजना — १० मिनेटमै कानुनी दायरामा।

वीरगन्ज, १० असोज । चाँडपर्वमा जेनजीको आडमा आपराधिक गतिविधि बढ्न सक्ने आकलनसहित पर्सा प्रहरीले कडा सुरक्षा योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार र छठलाई लक्षित गरी तयार गरिएको विशेष सुरक्षा योजना यही असोज ६ गतेदेखि लागू भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुरक्षा योजनाअनुसार जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए ।

मुख्य बजार, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि बेग्लै टोली परिचालन गरिएको छ । चोरी, लुटपाट र गुण्डागर्दी नियन्त्रण गर्नका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी खटाइएको उनले बताए ।

‘कुनै पनि घटनाको सूचना पाउनासाथ १० मिनेटभित्र प्रहरी त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ,’ एसपी पाठकले भने, ‘यसका लागि क्विक रेस्पोन्स टिम क्यू.आर.टी.तयारी अवस्थामा छ ।’

भारतसँगको खुला सीमा भएका कारण हतियारको दुरुपयोग, चोरी, लुटपाट र सीमा अपराधको जोखिम उच्च रहेको पर्सा प्रहरीले जनाएको छ । यी चुनौतीलाई ध्यानमा राख्दै निगरानीका लागि सिसिटिभी क्यामेरा, शंकास्पद व्यक्तिको अनुगमन र सूचना संकलनलाई प्राथमिकता दिइएको छ ।

एसपी पाठकले जेनजीको नाममा अपराध गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिए । ‘कानुन उल्लंघन गर्ने जो कोही दोषी हुन्, कसैलाई पनि छुट दिइने छैन,’ उनले भने, ‘आवश्यक परे मेरो जागिर जाओस्, अपराधीलाई कानुनी कठघरामा उभ्याइन्छ ।’

प्रहरीले कुनै घटना वा आपराधिक क्रियाकलाप देखे १०० नम्बरमा तुरुन्त जानकारी दिन नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update