Birgunj News24
आईतबारसम्म निकासा गर्न तलब रोक्ने पालिका र प्रअलाई मन्त्री पुनको अल्टिमेटम।

वीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारजस्तो चाडपर्वको समयमा पनि शिक्षकहरूको तलब निकासा नगर्ने स्थानीय तह (पालिका) र विद्यालयका प्रधानाध्यापकहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

तलब नपाएको भन्दै देशभरका शिक्षकहरूबाट गुनासो आएपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत उक्त चेतावनी सार्वजनिक गरेका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयले हरेक पालिकामा शिक्षकको तलब पहिले नै पठाइसकेको छ।

मन्त्री पुनले स्पष्ट शब्दमा भनेका छन्, ‘दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।’

उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समेत तलब रोकेको गुनासो आएको उल्लेख गर्दै प्रधानाध्यापकलाई लक्षित गरी भने, ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलव निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’

मन्त्री पुनको यो निर्देशनले चाडपर्वको मुखमा तलबबाट वञ्चित भएका शिक्षकहरूलाई तत्काल राहत मिल्ने अपेक्षा गरिएको छ। उनले मन्त्रालयबाट रकम पठाइसकेपछि पनि किन तलब रोक्का गरियो भन्ने विषयमा छानबिन गर्नसमेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update