 
                                                                        पर्सा ।
भूमि समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा ७ अव्यवस्थित परिवार र ३७ भूमिहीन दलित तथा सुकुम्वासी गरी ४४ जनालाई कानुनी स्वामित्वको प्रमाणपत्र प्रदान गरिएको हो।
आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार लामो समयदेखि असुरक्षित रूपमा बस्दै आएका नागरिकले अब सुरक्षित बसोबास गर्न, सरकारी सुविधा प्राप्त गर्न तथा आफ्नो जमिनलाई धितो राखेर व्यवसाय वा अन्य आयआर्जनका काम गर्न सक्नेछन्। “नागरिकको अनुहारमा आएको खुशी देख्दा हाम्रो काम अर्थपूर्ण भएको अनुभव भयो,” अध्यक्ष अहमदले बताए।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले भूमिहीनलाई कानुनी स्वामित्व दिलाउने यो पहललाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका थिए।
सो अवसरमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले लालपुर्जा वितरणलाई गौरवको विषय बताउँदै भने, “अब पालिकाभित्रका अन्य नागरिकलाई पनि जग्गाधनी बनाउन काम गर्नेछौं। सुकुम्वासी सर्वहाराको पक्षमा काम गर्न पाउनु मेरो जिम्मेवारी र गर्व हो।” उनले सुकुम्वासी समस्याको अन्त्य गर्न ०५१ सालमा सुरु भएको अभियानलाई स्मरण गर्दै यसलाई निरन्तर अघि बढाउनुपर्ने बताए।
लाभग्राहीहरूले दशकौँको संघर्षपछि प्राप्त अधिकारप्रति खुसी व्यक्त गर्दै यसले आफ्नो आगामी पुस्ताका लागि सुरक्षित भविष्यको आधार तयार गरेको बताएका छन्।
भूमि आयोगका पदाधिकारीहरूले यसलाई भूमिविहीनलाई न्याय दिलाउने दीर्घकालीन अभियानको महत्त्वपूर्ण चरण बताउँदै, बाँकी नागरिकलाई समेत कानुनी स्वामित्व दिलाउन निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            