वीरगञ्ज, पर्सा आनन्द पटेल
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (SP) गौतम मिश्रको सरुवा भई अन्यत्र जान लागेपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा एक विशेष कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ।
बिदाई कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले SP मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी अवधारणा प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
अध्यक्ष जय प्रकाश खेतानले कार्यक्रममा बोल्दै SP मिश्रको कार्यशैली, इमानदारिता र जनताप्रति उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै भने, “गौतम मिश्रजस्तो इमानदार र जनमित्र प्रहरी प्रमुखले पर्सामा काम गर्दा यहाँको सुरक्षात्मक वातावरण थप मजबुत भएको छ। उहाँको योगदानलाई हामी सदैव सम्झनेछौं र भविष्यको कार्यक्षेत्रमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने हाम्रो शुभकामना छ।”
कार्यक्रममा पत्रकारहरू, स्थानीय नागरिकहरू, समाजसेवीहरू र रुङटा वेल्फेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुङ्गटाको विशेष उपस्थिति रहेको थियो। सबैले SP मिश्रलाई आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना दिएका थिए।



