 
                                                                        बीरगञ्ज आनन्द पटेल— भ्रष्टाचार र बेथिति विरुद्धको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ, बीरगञ्ज शाखा र लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५–एस नेपालले संयुक्त रूपमा बीरगञ्ज घन्टाघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिद युवाहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।
पर्सा चिकित्सक श्रीमती संघ, बीरगञ्ज शाखाकी अध्यक्ष निता झाले सहिद युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचारविरुद्धको यो आन्दोलन देशकै लागि ऐतिहासिक रहेको बताइन्। अध्यक्ष झाका अनुसार, देशमा भ्रष्टाचारको जालो फैलिएर सर्वसाधारणले दुःख पाइरहेका बेला युवाहरूले उठाएको आवाजले सुशासन र पारदर्शिताको आवश्यकता झनै प्रस्ट भएको छ।
“सुशासन र अमनचयनका कुरा पुस्तकै लागि हराउँदै गएको बेलामा जेन–जी युवाहरूले गरेको बलिदान अत्यन्तै प्रेरणादायी छ। हामी सबैले सहिदहरूको त्यागलाई नमन गर्नुपर्छ,” अध्यक्ष झाले भनिन्।
कार्यक्रममा संघकी उपाध्यक्ष प्रेमा सिंह, ज्योति ठाकुर, दिपाली चौरसिया, लुना बनर्जी, अन्जली गुप्ता, सिमा सिंह, सुरुवी सिंहलगायत महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिदहरूको योगदानलाई भावनात्मक रूपमा स्मरण गरे।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५–एस नेपालका अध्यक्ष सुशीला साहले पनि सहिद युवाहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको जानकारी दिइन्। उनले सहादत दिने युवाहरूको बलिदानले भ्रष्टाचारविरुद्धको लडाइँलाई अझ सबल बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संघका सदस्य, लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, महिला प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। उपस्थित सबैले सहिदहरूलाई स्मरण गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि निरन्तर आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरेका थिए।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            