Birgunj News24
जेनजी आन्दोलनले वीरगञ्ज महानगरलाई १ अर्ब १५ करोडको क्षति।

३१ भदौ,वीरगञ्ज । भदौ २४ गते भएको जेनजी आन्दोलनको हिंसात्मक घटनाक्रमले वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यो क्षति मुख्यतः तोडफोड, आगजनी र लुटपाटका कारण भएको हो।

आन्दोलनको क्रममा महानगरपालिकाको मुख्य भवन, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, र अन्य सार्वजनिक संरचना आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन्। कार्यालयभित्र रहेका कागजात, कम्प्युटर, फर्निचर लगायतका सामग्री ध्वस्त भएका छन्। साथै, आन्दोलनकारीहरूले नगरप्रमुख राजेशमान सिंहको निवासमा समेत आगजनी गरेका थिए।

प्रशासकीय अधिकृत कर्णले वडा र स्वास्थ्य संस्थाहरूमा क्षतिको विवरण संकलन भइरहेकाले पूर्ण तथ्याङ्क आउन बाँकी रहेको जानकारी दिए। नगरपरिषद बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

यसै बैठकले आर्थिक वर्ष २०८२र०८३ मा विनियोजित बजेटलाई संशोधन गरी संरचना पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय समेत गरेको छ। विशेष अधिवेशन बोलाएर बजेट संशोधन प्रक्रिया अघि बढाउने तयारी भइरहेको जनाइएको छ। बैठकमा प्रस्तुत भएको प्रतिवेदनमा हालको आन्दोलन वास्तविक जेनजी युवाहरूको नभई बाह्य घुसपैठमार्फत आपराधिक समूहले उक्साएको ठहर गरिएको छ। कर्णका अनुसार, आन्दोलनको नाममा घुसपैठ गरी योजनाबद्ध तोडफोड र आगजनी गरिएको प्रमाणहरू फेला परेका छन्।

नगरपरिषदले घटनामा संलग्नहरूलाई पहिचान गरी जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गरेर कानुनी कारबाही सुरु गर्ने निर्णय गरेको छ। यसका लागि सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयानहरू संकलन भइरहेको प्रहरी प्रशासनले जनाएको छ। नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र विभागीय प्रमुखहरूको उपस्थितिमा सम्पन्न बैठकले जनताको सेवा अबिलम्ब पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सबैले पुनर्निर्माणको काम ढिलो नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update