Birgunj News24
६१ औँ राष्ट्रिय बाल दिवस आज: ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्य’ ।

काठमाडौं- आज भदौ २९ गते ६१ औं राष्ट्रिय बाल दिवस रहेको छ । यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।

वि.सं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update