 
                                                                        वीरगन्ज । नेपालका निजी तथा आवासीय विद्यालयहरूको संगठन, प्यासनले हालैको ‘जेनजी आन्दोलन’बाट प्रभावित शिक्षा क्षेत्रलाई तत्काल सुचारु गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
संगठनले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली दिँदै शैक्षिक सत्रको सुरुदेखि नै अस्तव्यस्त रहेको पठनपाठन पुनः सञ्चालन गर्न आवश्यक भएको बताएको छ।
शनिबार जारी गरिएको विज्ञप्तिमा प्यासनले आन्दोलनले ल्याएको परिवर्तनको स्वागत गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पाउनुलाई सकारात्मक उपलब्धि भनेको छ। नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायमा काम गर्नेमा आफू विश्वस्त रहेको पनि प्यासनले जनाएको छ।
संगठनका पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र सचिव अशोक संग्रौलाले पर्सामा लामो समयदेखि गर्मी, हैजा र आन्दोलनका कारण विद्यार्थीको पढाइमा असर परेको भन्दै अब यसलाई थप लम्ब्याउनु विद्यार्थीको भविष्यमाथि अन्याय हुने बताएका छन्।
प्यासनले सरकारलाई शिक्षा क्षेत्रमा लगानी बढाउन, पूर्वाधार सुधार गर्न र रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरेको छ। साथै, विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै शैक्षिक क्रियाकलाप पुनः सञ्चालनका लागि सबै अभिभावक, शिक्षक र नागरिक समाजलाई एकजुट भएर पहल गर्न पनि आह्वान गरेको छ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            