
पर्सा, भदौ २६
जिल्लामा शान्ति सुरक्षाको अवस्था मध्यनजर गर्दै पर्सा प्रशासनले विशेष क्षेत्रलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण पन्थीले बिहीबार एक विज्ञप्ति जारी गर्दै चार किमी परिधिभित्र सभा, जुलुस, प्रदर्शन, आमसभा, बैठक, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको जनाएका छन्।
निषेधाज्ञाले तोकेको क्षेत्र :
पूर्व : बाईपास रोड
पश्चिम : सिसिञ्या पुल
उत्तर : गण्डक चौक
दक्षिण : संकर्पण गेट
नोटअनुसार, एम्बुलेन्स, दमकल, शववाहन, फोहर बोकेको गाडी, स्वास्थ्यसँग सम्बन्धित साधन, सञ्चारमाध्यम, पर्यटन, मानवअधिकार, कूटनीतिक सवारी साधन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोकेको सवारी साधन, इन्धन ट्यांकर र हवाई टिकटधारी यात्रु आदिलाई भने अवरोध नहुने उल्लेख गरिएको छ।
निषेधाज्ञा आज बिहीबार अपराह्न ४:०० बजेदेखि राति ९:०० बजेसम्म लागू हुने जनाएको छ। भोलि शुक्रबार बिहान ६:०० बजेदेखि राति १०:०० बजेसम्म, र शनिबार बिहान ६:०० बजेदेखि राति ९:०० बजेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ।
प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ।