
वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा युवाहरूले प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा कुनै पनि सरकार छैन। यसैको फाइदा उठाएर देशमा अस्थिरता फैलाउने र व्यवस्था नै मास्ने चलखेल भएको भन्दै उनीहरूले खबरदारी गरेका हुन्।
युवाहरूले ‘संविधानको रक्षा गरौँ’, ‘संसद विघटन गर्न पाइँदैन’ लगायतका नारा लगाउँदै सडकमा उत्रेका छन्। उनीहरूले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीको राजीनामासँगै देशमा नयाँ सरकार गठनको प्रक्रिया र नेतृत्वबारे छलफल र बहष सुरु भएको छ। तर, यसैबीच विभिन्न शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गरेर देशलाई थप संकटमा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। प्रदर्शनकारीहरूले अहिलेको संविधान र व्यवस्थालाई बचाउनु नै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। उनीहरूले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्दै संवैधानिक प्रक्रियाबाट नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।