 
                                                                        काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै निजी विद्यालयहरूमा दुई दिन शोक बिदा दिने निर्णय भएको छ।
निजी विद्यालयसँग सम्बन्धित विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते (आज र भोलि) देशभरका निजी विद्यालय बन्द रहने जनाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ। विभिन्न अस्पतालमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ।”
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै शोक बिदा दिने निर्णय सार्वजनिक गरेका हुन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            