Birgunj News24

 २३ भदौ, वीरगन्ज आनन्द पटेल 
मधेश विश्वविद्यालयले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ । समाजप्रति उत्तरदायित्व वहन गर्दै गरिएको यो स्वास्थ्य शिविरमा विश्वविद्यालयसँग सम्बद्ध विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले निःशुल्क परीक्षण सुविधा प्राप्त गरेका थिए । 
शिविरको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ताले मधेश विश्व  विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि उदाहरण प्रस्तुत गरेको बताउनु भयो । उहाँले शिक्षासँगै स्वास्थ्य सेवा पनि समुदायसम्म पु¥याउन विश्वविद्यालयले अग्रसर भएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको स्वास्थ्य सचेतनामा ठुलो योगदान पु¥याउने धारणा राख्नुभयो ।
शिविरमा वीरगंजस्थित किरण आँखा अस्पताल प्रा.लि.का नेत्र विशेषज्ञहरुको टोलीले आँखा परीक्षण गरेका थिए भने दन्त चिकित्सकहरूले मुख तथा दन्त स्वास्थ्य जाँच गरेका थिए । विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमअन्तर्गत करिब २ सय विद्यार्थीहरूको आँखा तथा दन्त परीक्षण गरिएको थियो । 
कार्यक्रममा ठाकुरराम क्याम्पसका पूर्व प्राध्यापक डा. हरेराम ठाकुर, विश्वविद्यालयका पुस्तकालय प्रमुख हेमशंकरलाल कर्ण, प्रशासनिक अधिकृत रजनी जयसवाल लगायतले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामै विश्वविद्यालयको ध्यान केन्द्रित हुनु उत्साहजनक रहेको उल्लेख गर्दै भविष्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 
मधेश विश्वविद्यालयले भविष्यमा पनि यस किसिमका स्वास्थ्य, शिक्षा तथा सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update